
निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको आयोगका प्रवक्ताले बीबीसीलाई बताएका छन्। उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते हुने बताइएको छ।
नेपालको संविधान अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने भएकाले फागुन २५ को निर्वाचनको नतिजाका आधारमा कस्तो व्यक्ति उपराष्ट्रपति हुने टुङ्गो लाग्नेछ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ।
संविधानअनुसार नेपालको राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रहन्छन्। राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिको कार्यभारसमेत सम्हाल्ने जिम्मेवारी उपराष्ट्रपतिले पाउँछन्।
संविधान तथा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी कानुनअनुसार मतभार निकाल्न नेपालको ताजा जनगणनाको नतिजा आवश्यक पर्छ।
यस्तो मतभार निकाल्न पाँच वर्षअघिको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा विसं २०६८ सालको जनगणनालाई आधार मानिएको थियो।
प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “२०७८ सालकोे जनगणनाको नतिजा आयोगलाई आएको छैन। मतदाता नामावली सङ्कलन गर्दासम्म नतिजा आयो भने आयोगले निर्णय गरेर विचार गर्न सक्छ। नत्र २०६८ सालकै जनगणनाका आधारमा निर्वाचन हुन्छ।”
फागुन १० मा मतदाता नामावली प्रकाशन, फागुन १३ मा राष्ट्रपतिका लागि र फागुन २७ मा उपराष्ट्रपतिका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यसूची निर्वाचन आयोगले प्रकाशन गरेको छ।
“सोमवारको निर्णयमा भने आयोगले जनगणनाको सम्बन्धमा केही बोलेको छैन,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले थपे।
जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक भइसकेको छैन।
नेपालमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रत्यक्ष रूपमा नभई अप्रत्यक्ष रूपमा हुने व्यवस्था छ।
त्यसको अर्थ हो ( उनीहरूलाई सर्वसाधारण मतदाताले नभई संसदीय निर्वाचनबाट चुनिएका सङ्घीय संसद् र प्रदेशसभाका सदस्यहरूले मतदान गरेर छान्छन्।
राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव पनि निर्वाचन आयोगले गराउने प्रावधान रहेको छ।