२०७९ चैत्र १, बुधबार ०७:५५

नारद कोहार
कपिलवस्तु १ चैत- तिलौराकोट आउने पर्यटकहरुलाई मगन्ते बालबालिकाले पैसा मागेर हैरान बनाउने गरेका छन् । कपिलवस्तु नगरपालिकाभित्र रहेका बुद्धस्थलहरूमा मगन्ते बालबालिकाले पैसा र सामान माग्ने गरेको दृश्य सामान्य जस्तै बनेको छ। प्राचीन कपिलवस्तुस्थित बुद्धस्थलको अवलोकन गर्न आएका पर्यटक देख्नेबित्तिकै हुलका हुल बालबालिकाले घेर्ने गर्छन्। राजा शुद्धोधनको राजदरबार एवं बुद्धले २९ वर्ष बिताएको ठाउँ तिलौराकोट, बुद्धले बुधत्व प्राप्त गरेपछि आमा बुवालाई भेटेको ठाउँ कुदान, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा क्षेत्रमा पर्यटक बोकेको बस देख्नेबित्तिकै मगन्ते बालबालिका दौडिँदै वरिपरि झुम्मिने गर्छन्।

यसले पर्यटकलाई समेत अफ्ठ्यारो र असहज हुने गरेको छ। बाटो छेकेरै पैसा मागेर सास्ती दिने गरिएकाले पर्यटकको हेर्ने दृष्टिकोणमा समेत नकारात्मक असर परेको स्थानीय व्यवसायी दिनेश रायमाझीले बताउनुभयो। लुम्बिनी विकास कोषले तिलौराकोट, कुदान, निग्लिहवालगायतका स्थानमा सुरक्षा गार्ड खटाए पनि मगन्ते बालबालिका नियन्त्रणका सम्बन्धमा कुनै चासो नलिएको उहाँले बताउनुभयो। लुम्बिनी विकास कोष तिलौराकोटका प्रमुख माधवप्रसाद आचार्यले मगन्ते बालबालिकाका कारण विदेशी पर्यटक तथा तीर्थयात्रीमाझ नराम्रो सन्देश गएको बताउनुहुन्छ। यस्ता कार्यको नियन्त्रणका लागि कोषल ठोस कदम चाल्ने समेत उहाँले बताउनुभयो। बालबालिका मगन्ते बनेर तिलौराकोट क्षेत्रमा आउने गरेको बताइएको छ। यहाँ वार्षिक ५० देखि ६० हजारको हराहारीमा विभिन्न देशका पर्यटक आउने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय